काठमाडौं, २ वैशाख । सरकारले वैशाख २ गते (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (वेलनेस दिवस) का रूपमा देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले घोषणा गरेको अन्तर्राष्ट्रिय आरोग्य दिवस आज काठमाडौंको टुँडिखेलमा एक समारोहका साथ मनाइँदैछ ।
शारीरिक र मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखिएको यस ऐतिहासिक कार्यक्रमले विश्व मानचित्रमा आरोग्यप्रतिको नेपाली जागरणलाई सशक्त रूपमा प्रस्तुत गरेको छ ।
संयुक्त राष्ट्रसंघले यस दिनलाई विश्वव्यापी रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै नेपालमा पनि पहिलो पटक स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा यो दिवस मनाउन लागिएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार यस वर्ष संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमार्फत योग, ध्यान, स्वस्थ खानपान, र आयुर्वेदका शिरोधारा जस्ता उपचार विधिबारे जानकारी दिने तयारी गरिएको छ ।
नेपाली भान्छामा प्रयोग हुने अदुवा, बेसार र जवानु जस्ता मसलाहरूको वैज्ञानिक महत्त्व रहेको चर्चा गर्दै नागरिक आरोग्य सेवा केन्द्रमार्फत प्रत्येक वडामा आयुर्वेद सेवा पु¥याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।
जानकारी दिनुभयो। यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्था मात्र नभई शारीरिक, मानसिक र सामाजिक सन्तुलनको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने लक्ष्य राखेको छ ।
नेपाललाई विश्वकै ‘आरोग्य हब’ का रूपमा विकास गर्ने सरकारको योजनाअन्तर्गत राष्ट्रिय आयुर्वेद पञ्चकर्म सेवा केन्द्रलाई वेलनेस सेन्टरका रूपमा अघि बढाइने भएको छ । प्राकृतिक जडीबुटी र मौलिक चिकित्सा पद्धतिमा धनी नेपालले यो दिवसमार्फत आरोग्य पर्यटन प्रवद्र्धन गर्ने ठुलो अवसर पाउने विश्वास लिइएको छ ।

