काठमाडौं, २ वैशाख । दाङ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको ‘प्रथम बिन्दु’ (First Point) को सेवा स्थगित गरेको छ। प्रतिष्ठानले एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै मिति २०८३ वैशाख २ गतेदेखि लागू हुने गरी उक्त सेवा स्थगित गरिएको र अब ‘प्रेषण बिन्दु’ (Referral Point) को सेवा मात्र कायम रहने जानकारी दिएको छ।
यसअघि नेपाल सरकारको राष्ट्रिय बीमा बोर्डले २०८२ चैत्र मसान्तसम्मका लागि यस प्रतिष्ठानलाई प्रथम बिन्दुको सेवा सञ्चालन गर्न अनुमति दिएको थियो। उक्त समय सीमा समाप्त भइसक्दा पनि बीमा बोर्डबाट थप कुनै नयाँ निर्देशन वा पत्राचार नभएकाले प्रतिष्ठानले हाललाई यो निर्णय लिनु परेको सूचनामा उल्लेख छ। बीमा बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि प्रथम बिन्दुको सेवा बन्द रहनेछ।
नयाँ व्यवस्था लागू भएपछि अब स्वास्थ्य बीमा भएका बिरामीहरूले सिधै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर बीमा सुविधा प्रयोग गर्न पाउने छैनन्। सेवाग्राहीहरूले स्वास्थ्य बीमाको लाभ लिनका लागि बीमा बोर्डबाट प्रथम बिन्दुका रूपमा तोकिएका अन्य स्वास्थ्य संस्थाहरूबाट अनिवार्य रूपमा ‘प्रेषण पत्र’ (Referral Note) लिएर आउनुपर्नेछ।
प्रतिष्ठानका सह-निर्देशक स.प्रा.डा. सुरेश रसाईलीद्वारा हस्ताक्षरित सो सूचनामार्फत सबै सम्बन्धित सेवाग्राहीहरूलाई यो जानकारी गराइएको हो। बीमा बोर्डको पुनः पत्राचार वा निर्णय नभएसम्म यो प्रावधान यथावत रहने भएकाले बिरामीहरूलाई स्वास्थ्य सेवा लिन आउँदा आवश्यक कागजात र प्रेषण पत्र साथमै लिएर आउन प्रतिष्ठानले अनुरोध गरेको छ।


