काठमाडौं, २ वैशाख : आफ्ना विभिन्न माग राखी आन्दोलनमा उत्रिएको डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपाल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच पाँच बुँदे सहमति भएको छ। एसोसिएसनले चैत २७ गतेदेखि परिषद्का अध्यक्ष सुबोध कुमार शर्माको कार्यकक्षमा गरेको तालाबन्दी वैशाख २ गते भएको वार्तापछि खोलिएको छ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटा र परिषद्का रजिष्ट्रार रविकान्त मिश्रद्वारा हस्ताक्षरित सम्झौतासँगै विगत केही दिनदेखि जारी आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन्।

 

सहमति अनुसार, विना दर्तावाल व्यक्तिहरूलाई दन्त सेवाका कार्यमा संलग्न गराउन रोक लगाउन गृह मन्त्रालयमा पत्राचार गरिनेछ भने मापदण्ड विपरितका ३ महिने तालिम प्राप्त जनशक्ति उत्पादन र कार्यमा रोक लगाउन सीटीईभीटीलाई समेत सूचित गरिनेछ। यस्तै, सातै प्रदेशका स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरूलाई पत्राचार गरी डेन्टल क्लिनिक तथा अस्पतालको दर्ता र नवीकरण गर्दा अनिवार्य रूपमा दर्तावाल डेन्टल हाईजेनिस्ट वा असिस्टेन्टको व्यवस्था गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्न पहल गर्ने निर्णय भएको छ।

सम्झौताको अन्य बुँदाहरूमा डेन्टल क्षेत्रको ‘कोड अफ एथिक्स’ का सम्बन्धमा कानूनी सल्लाहकार र पूर्व रजिस्ट्रारहरूको सहभागितामा यथाशीघ्र बैठक बसी छलफल गर्ने उल्लेख छ। साथै, परिषद्को ऐन विपरित कार्यकाल सकिएका सदस्यहरूको हकमा आवश्यक निर्णय नहुन्जेल उनीहरूलाई कुनै पनि बैठक वा कार्यमा सहभागी नगराउन गृह र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्ने सहमति समेत भएको छ।

यो सहमतिले डेन्टल क्षेत्रको पेशागत सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

 

 

 

 प्रकाशित :-  २०८३ बैशाख २, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय