काठमाडौंँ, ४ पुस ः सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले चार लाख ६० हजार ९४० मात्रा खोप आएको बताए ।
उनले पहिलो चरण खोप आएसंगै अव नियमित खोप आउने बताए ।
उनले खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए ।
‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान संचालन गर्न थालेको छ ।
१५ दिने अभियानअन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
नेपालमा हरेक बर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ ।
नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

