काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन एक उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेकी हुन्।
समितिमा डा. सरोज शर्मा, डा. भीमप्रसाद सापकोटा, उपसचिव मित्रप्रसाद घिमिरे, वरिष्ठ औषधि व्यवस्थापक प्रशासक उषा तण्डुकार र शाखा अधिकृत सुरजप्रकाश अर्याल सदस्य रहेका छन्।
समितिलाई आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी मुख्य चारवटा कार्यदेश (Terms of Reference) दिइएको छ। जसअन्तर्गत १५ दिनभित्रै ‘Free Health Portal’ निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ। यस्तै, सरकारी अस्पतालका औषधि पसलहरूमा औषधिको मौज्दात र मूल्य सर्वसाधारणले स्पष्ट देख्ने गरी डिजिटल प्रणाली स्थापना गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले अस्पतालहरूमा हुने अनावश्यक ‘रिफर’ प्रणालीलाई नियन्त्रण गर्न डिजिटल ‘पेसेन्ट रेकर्ड सिस्टम’ (Patient Record System) विकास गर्ने लक्ष्य राखेको छ। आगामी तीन महिनाभित्र एकीकृत स्वास्थ्य सूचना प्रणाली विकास गरी बिरामीको उपचार इतिहास र क्लिनिकल फलो-अपलाई व्यवस्थित गरिनेछ।
यसका साथै, सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति र जवाफदेहिता सुनिश्चित गर्न GIOMS प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय समेत मन्त्री मेहताले गरेकी छन्। यस कदमबाट निजी अस्पतालमा बिरामी रिफर गर्ने प्रवृत्ति घट्ने र सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढ्ने मन्त्रालयको विश्वास छ।

