काठमाडौं, २३ चैत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य क्षेत्रमा बिना दर्ता अनधिकृत व्यक्तिहरूले स्वास्थ्य सेवा दिइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न अस्पताल, डेन्टल क्लिनिक, प्रयोगशाला तथा डायग्नोस्टिक सेन्टरहरूमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ विपरीतका कार्यहरू भइरहेको गुनासो प्राप्त भएको बताएको हो। परिषद्का अनुसार दर्ता नभएका व्यक्तिहरूलाई एक्स-रे गर्ने, दाँत उखेल्ने, दाँतको नाप लिने र रगत तान्ने जस्ता संवेदनशील कार्यमा संलग्न गराइएको पाइएको छ।
सूचनामा ऐनको दफा २० लाई उल्लेख गर्दै परिषद्मा दर्ता भएका आधिकारिक स्वास्थ्य व्यवसायीबाहेक अन्य कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वास्थ्य व्यवसाय गर्न नपाउने स्पष्ट पारिएको छ। साथै, एक विधामा दर्ता भएका स्वास्थ्य व्यवसायीलाई अर्को विधाको कार्य गर्न लगाउनु पनि कानुनी अपराध भएको परिषद्ले जनाएको छ। यस्ता गतिविधिहरूले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले परिषद्ले त्यस्ता कार्यहरू तत्काल रोक्न सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई सचेत गराएको छ।
परिषद्ले ऐन र नियमावली २०५६ बमोजिम निर्देशन पालना नगर्ने व्यक्ति वा संस्थालाई जरिवानासहित कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यसका साथै, परिषद्मा दर्ता भएका सम्पूर्ण स्वास्थ्य व्यवसायीहरूलाई संस्थाले जारी गरेको आचारसंहिता (Code of Ethics) पूर्ण रूपमा पालना गर्दै मर्यादित रूपमा आफ्नो सेवा प्रवाह गर्न समेत अनुरोध गरिएको छ।

