काठमाडौं, २३ चैत । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध केही स्वास्थ्य संस्थाहरूले बीमितहरूलाई मर्कामा पारेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै बीमितहरूलाई नियमानुसार उपलब्ध हुनुपर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू नगदमा खरिद गर्न लगाएको र सेवा प्रवाहमा विभेदपूर्ण व्यवहार गरेको व्यापक गुनासो प्राप्त भएको उल्लेख गरेको छ। यस्ता गतिविधि तुरुन्त रोक्न र स्वास्थ्य बीमा नियमावली बमोजिम काम गर्न सबै सेवा प्रदायक संस्थाहरूलाई सचेत गराइएको छ।
बोर्डका अनुसार कतिपय अस्पतालहरूले बीमितलाई सेवा लिनुअघि अनावश्यक अग्रिम समय लिन बाध्य पारेको र भेदभावपूर्ण व्यवहार गरेको पाइएको छ। यस्ता कार्य स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ को विपरीत हुने बोर्डको ठहर छ। यदि कुनै पनि स्वास्थ्य संस्थाले पुनः यस्तो कमजोरी दोहोर्याएको पाइएमा ऐनको दफा १२ बमोजिम उक्त संस्थासँग गरिएको बीमा सम्झौता नै रद्द गर्ने र कानुनी कारबाही अघि बढाउने चेतावनी बोर्डले दिएको छ।
यसैगरी, बोर्डले औषधि र अन्य स्वास्थ्य सेवाहरूको दररेटका सम्बन्धमा पनि स्पष्ट पारेको छ। यदि अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेख गरिएको दर भन्दा कम भएमा अस्पतालकै न्यून दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको छ। यस्ता सबै दाबीहरू अनिवार्य रूपमा API मार्फत बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्न बोर्डले निर्देशन दिएको छ। बीमितको हक अधिकार संरक्षण गर्दै पारदर्शी रूपमा सेवा प्रवाह गर्न बोर्डले सबै पक्षलाई आग्रह गरेको छ।


