काठमाडौँ, २९ भदौ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले प्राडा अन्सारीलाई चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
यसअघि कलेजमा लामो समय अध्यक्षको जिम्मेवारी डा भोला रिजालले सम्हालेका थिए ।अस्पतालको पाँच सदस्यीय सञ्चालक समितिमा निवर्तमान अध्यक्ष डा रिजालसंगै डा आनन्द प्रसाद श्रेष्ठ, डा साविहा यासमिन, शाहनवाज अन्सारी रहेका छन् । डा साविहा र शाहनवाज डा जैनुद्धिनका छोरी र छोरा हुन् ।
अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्राडा अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । आफू मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताए । ‘पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु,’ उनले भने ।
हुन पनि डा। अन्सारी वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका पनि अध्यक्ष हुन् । उनले सो कलेजको लामो समय देखि नेतृत्व गर्दै आएका छन् ।
एनएमसीमा अन्सारी परिवारको झण्डै ५७ प्रतिशत शेयर रहेको छ । बहुमत शेयरवाला अध्यक्ष हुने प्रावधान अनुसार नै अधिकतम शेयरवाला अन्सारी नेतृत्वमा आएका हुन् । यसअघि उनी त्यहाँ मेडिकल डाइरेक्टर थिए ।
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्राडा अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटी, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताए । ‘तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्राडा अन्सारीले कलेज स्थापनामा योगदान पुर्याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भने ।
यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा. रिजालले संस्थापक अध्यक्ष डा सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गरे ।
अर्का सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्राडा अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन संहालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताए ।

