काठमाडौं, २४ चैत । दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै दाङको समग्र विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ। लुम्बिनी प्रदेशका सांसदहरूसँगको बैठकमा सुवेदीले नागरिकको बाँच्न पाउने हक सुनिश्चित गर्न अस्पतालमा अत्याधुनिक उपकरण र आईसियु (ICU) सहितको २४सै घण्टा प्रभावकारी सेवा अनिवार्य रहेको बताउनुभयो। उपचारको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उहाँले अस्पतालको सुधार दाङवासीका लागि ओखती मात्र नभई राज्यप्रतिको भरोसा भएकोमा जोड दिनुभयो।
स्वास्थ्य क्षेत्रको सुधारसँगै सांसद सुवेदीले दाङको पूर्वाधार र आर्थिक समृद्धिका लागि ५ बुँदे रणनीतिक योजनाहरू समेत प्रस्तुत गर्नुभएको छ। उहाँले ‘दाङको कर्णाली’ भनिने पश्चिम दाङको विकासका लागि टरिगाउँ विमानस्थलको विस्तार, लमही–घोराही–तुलसीपुर सडकको द्रुत निर्माण र सुकौराकोट जस्ता ऐतिहासिक क्षेत्रको पर्यटकीय प्रवद्र्धन हुनुपर्ने माग राख्नुभयो। यस्तै, किसानले समयमै मल-बीउ पाउने र उत्पादनको उचित मूल्य पाउने वातावरण मिलाउन उहाँले प्रधानमन्त्रीलाई विशेष आग्रह गर्नुभयो।
विगतदेखि नै ओझेलमा परेको दाङको भूगोल र त्यहाँका मौन आवाजहरूको प्रतिनिधित्व गर्दै सांसद सुवेदीले यी एजेन्डाहरूलाई सुशासन र समृद्धिको संकल्पसँग जोड्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्रीको सबल नेतृत्वमा टरिगाउँ विमानस्थलमा ठूला जहाज अवतरण गर्ने वातावरण बन्ने र अलपत्र सडक आयोजनाहरूले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो। दाङवासीका सपना र स्वाभिमानलाई समेटिएका यी मागहरू पूरा गर्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

