काठमाडौं, १२ भदौ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भइरहेको बताएका छन् ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको बताए ।
‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइ रहेको छ,’ उनले भने ।
ललितपुर ३ की सांसद तोसिमा कार्कीले दर्ता गराएका हैजा महामारीका कारण निम्तन सक्ने स्वास्थ्य संकटका लागि पूर्वानुमान नियन्त्रण र द्रुत कार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धको ध्यानाकर्षण प्रस्तावमाथि स्पष्टीकरण दिंदै मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकामा हाल ४ जना मात्र बिरामी रहेको र उनीहरु पनि उपचाररत रहेको उल्लेख गरे ।
‘बिरामी नियन्त्रण दर बढेको छ,’ उनले भने, ‘तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भइरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिन्न । ’
मन्त्री पौडेलले डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको र कतै महामारी फैलिएमा आवश्यक कार्यका लागि हटलाइन नम्बर १११५ को व्यवस्थासहित सूचना प्रणालीसमेत प्रभावकारी बनाइएको जानकारी दिए ।
महामारी नियन्त्रणमा खानेपानी मन्त्रालयसँग समेत समन्वय भैरहेको भन्दै उनले जोखिम हुने ठाउँमा बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको र आवश्यक ठाउँमा भ्याक्सिन चाहिएमा आवश्यक तयारी गरिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, हैजा यकिन भएका ठाउँमा साझेदार संस्थासँग वडालक्षित सरसफाई तथा शुद्ध खानेपानी अभियान सञ्चालन गर्न समन्वय भइरहेको छ ।
उनले हैजा नियन्त्रण रोकथाम योजना २०२४ बनाएर आवश्यक काम भैरहेको भन्दै हैजा तथा डेंगु नियन्त्रणका लागि सचेतना फैलाउन स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र मार्फत जानकारीमूलक सामग्रीसमेत प्रचार भइरहेको संसदसमक्ष जानकारी गराए ।

