काठमाडौँ, । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
आज स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने बताए ।
“देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकको योगदानलाई राज्यका तर्फबाट कदर हो”मन्त्री पौडेलले भने “स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।”
उनले केन्द्रको सहयोगमा स्वास्थ्य सामाग्री त्यतिकै खेर गइरहेको अवस्थामा बिरामीको उपचारमा प्रयोग हुने र स्वास्थ्य उपकरण खरिदका लागि हुने खर्च पनि कम हुने बताए ।
केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएकोले आफूसंग भएका स्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्ने बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुरुवातमा १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत गर्ने बताए ।
अस्पतालमा विग्रेका स्वास्थ्यका उपकरण मर्मत गर्न मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए ।

