काठमाडौँ, १९ असार ः नेपालमा नै पहिलो पटक मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टमा सेन्टरमा काखीमुनि सानो प्वाल पारेर गरिने ओपन हार्ट सर्जरीबाट मुटुको कृत्रिम भल्व परिवर्तन गरिएको छ ।
सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा नेपालमा पहिलो पटक पोखराकी एक ५३ बर्षिया महिलाको काखी मुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो । उनले एक हप्ताअघि उक्त प्रविधिबाट गरिएको मुटुको भल्व परिवर्तनबाट विरामी सामान्य रहेको बताए ।
यसअघि छाती चिरेर मुटुको भल्व परिवर्तन गरिने गरिएको थियो ।
“अलि जटिल खालको शल्यक्रिया हो । तर हामीसंग सवै उपकरण रहेका थिए र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्व परिवर्तन ग¥यौ” उनले भने “हामीले केही दिन विरामीलाई राखेर डिस्चार्ज समेत गरिसकेका छौ ।” उक्त कृत्रिम भल्व अमेरिकाबाट ल्याइएको थियो ।
उनले आफू इटाली देशमा उक्त प्रविधिबाट मुटुको भल्व परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको समेत बताए । मुटुमा चार वटा भल्व रहेका हुन्छन । तिमध्ये विरामीको माइट्रल भल्व विग्रेपछि नयाँ भल्व हालिएको हो ।
काखीमुनि सानो प्वाल पारेर गरिने भल्ब परिवर्तनले विरामीलाई धेरै सहज हुने उनको भनाई रहेको छ । “छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले विरामीलाई धेरै सहज हुन्छ” उनले भने, “ठूलो घाउ नै हुदैन । रगत पनि धेरै बग्दैन । चाँडै सन्चो हुन्छ र विरामी घर पनि चाँडै जान्छन ।”
उनका अनुसार उक्त प्रविधिबाट भल्व परिवर्तन गर्न भारतमा २४ लाख रुपियाँ लाग्ने गरेको छ । सेन्टरमा उक्त प्रविधिबाट मुटुको भल्व परिवर्तन गर्दा सात लाख रुपियाँ लिने गरेको उनको भनाई रहेको छ ।

