खोटाङ, १८ असार : खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जन्मिएदेखि १५ महिनासम्मका दुई हजार आठ सय ८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका ६ हजार चार सय २२ बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।”

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालयका प्रमुख चौलागार्इँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्थालगायतलाई सम्मान गरिएको थियो । कोशी प्रदेशका १४ मध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने चौथो हो ।

 प्रकाशित :-  २०८१ अषाढ १८, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय