काठमाडौं । औषधि व्यवस्था विभागले पत्रकारलाई सूचना प्राप्तीमा अंकुश लगाउने गरि आचारसंहिता बनाएको छ । विभागले सूचना प्राप्त गर्ने स्वतन्त्रतालाई कुण्ठीत गर्ने गरि आचार संहिता बनाएको हो । कानुनतः पत्रकार वा नागरिकलाई सूचना वा जानकारी दिन जुन सुकै अधिकारीबाट कहिँकतै बञ्चीत गर्नै पर्ने बाध्यकारी व्यवस्था छैन ।

तर, विभागले कर्मचारिले पालना गर्नुपर्ने सर्त सहितको संहितामा विभागका महानिर्देशक वा सूचना अधिकारिबाहेक अन्यले सूचना दिन नमिल्ने भनिएको छ । विभागको वेबसाईटमार्फत आज सोमबार सार्वजनिक आचारसंहिताको बुँदा नम्बर ३४ मा भनिएको छ, ‘महानिर्देशक÷कार्यालय प्रमुख वा सूचना अधिकारी बाहेक अन्य कर्मचारीले अधिकार प्राप्त नगरी कार्यालयको काम कारबाही वा सोसँग सम्बन्धित विषयमा कुनै पनि सञ्चारका साधन मार्फत वक्तव्य दिन, अन्तर्वार्ता दिन वा नाम गोप्य राखेर वा नराखेर कुनै सूचना दिन हुँदैन । अधिकार प्राप्त गरी त्यस्तो सूचना वा वक्तव्य वा अन्तर्वार्ता दिँदा तथ्यमा सीमित रहेर दिनु पर्नेछ र त्यसमा आफ्नो व्यक्तिगत दृष्टिकोण वा विचार व्यक्त गर्न पाइने छैन ।’

संविधानमा समेत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने स्पष्ट व्यवस्था छ । नेपालको संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धी स्पष्ट व्यवस्था छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।’

पत्रकार आचारसंहिता २०७३ संसोधन सहित २०७६ मा स्रोतको संरक्षण गरेर सूचना दिन कसैलाई बञ्चीत गर्न नहुने भनिएको छ । संहितामा भनिएको छ,‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हनु ेदेखिएमा स्रोतकोनाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ । पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा अनिवार्य रुपमा मूल स्रोत उध्दृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ । यसरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्दा सहमति वा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको भएमा मूल स्रोतसँग सहमति लिएरमात्र प्रकाशन प्रसारण गर्नुपर्दछ ।’

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले सूचना प्राप्तीको अधिकारबाट कसैलाई पनि बञ्चीत गर्न नमिल्ने बताए । ढुंगेलले हेल्थपत्रसँग भने, महानिर्देशक÷कार्यालय प्रमुख वा सूचना अधिकारी बाहेक अन्य कर्मचारीले अधिकार प्राप्त नगरी कार्यालयको काम कारबाही वा सोसँग सम्बन्धित विषयमा कुनै पनि सञ्चारका साधन मार्फत वक्तव्य दिन, अन्तर्वार्ता दिन वा नाम गोप्य राखेर वा नराखेर कुनै सूचना दिन नहुने भन्ने कुरा अभिव्यक्ति स्वतन्त्रता अधिकार विपरीत छ । व्यक्ति किटेर यसलाई सूचना दिने यसलाई नदिने भन्ने कहिँ कतै हुँदैन । यसले आम नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता अधिकारबाट बञ्चीत गराउँछ । ’

हाल विभागको महानिर्देशकमा नारायणप्रसाद ढकाल रहेका छन् । उनले पटकपटक विभागको नेतृत्व सम्हाल्दै आएका छन् ।

 प्रकाशित :-  २०८१ अषाढ १७, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय