काठमाडौँ, ३२ जेठ । ‘पेडियाट्रिक युरोलोजी’ विषयको जटिल र दुलर्भ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
इशान बाल तथा महिला अस्पतालमा ११ वर्षे बालिका तृसना थापाको पिसाब थैली, मूत्रनली तथा मिर्गौलासम्बन्धी जटिल समस्याको एकै पटकमा चार किसिमका शल्यक्रिया गरिएको हो ।
यही जेठ १० गते भएको उक्त शल्यक्रियामा सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको र दुईवटै नलीमा पिसाब नफर्कने शल्यक्रिया गरी पिसाब थैलीको तल्लो प्वाल बन्द गरेर एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृत्रिम नली बनाउने शल्यक्रिया गरिएको थियो ।
यस अस्पतालका प्राडा रामनन्दनप्रसाद चौधरी र उहाँको समूह उक्त शल्यक्रियामा सहभागी थिए। “पेडियाट्रिक युरोलोजी विषयको दुर्लभ जन्मजात मूत्रथैली नबनेको रोग समस्याको जटिल तथा दुर्लभ शल्यक्रियापछि बालिका पूर्ण स्वस्थ हुनुहुन्छ”, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “१० घण्टा समय लागेको उक्त जटिल र अनौठो शल्यक्रिया सफल भएपछि सघन उपचार कक्ष तथा पोस्ट अपरेटिभ वार्डमा बिरामीको अवस्था क्रमशः सुधार हँुदै करिब सामान्य बनेको छ ।”
(((
प्रकाशित :- २०८१ जेष्ठ ३२, शुक्रबार

