चितवनः उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् । उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अंगमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताए । उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । डा रेग्मीले भने, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अंगहरुमा असर गर्दछ ।” वंशाणुगत र मोटोपनबाट उच्च रक्तचाप हुने भन्दै उनले चिकित्सकले सुझाएअनुसार नियमित औषधि सेवनबाट नियन्त्रणमा राख्न सकिने बताए ।

“उच्च रक्तचाप भएका व्यक्तिले मुख्यरुपमा नुनको सेवनमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म नुन कम खानु उपयुक्त विकल्प हो”, डा रेग्मीले भने । उच्च रक्तचापले मस्तिस्क घातसम्म हुनसक्ने भन्दै आँखामा असर गरे अन्धो, मुटुमा असर गरे हृदयाघात र मिर्गाैला खराब गराउनसक्ने उहाँको भनाइ छ । मिर्गाैला बिग्रँदा पनि उच्च रक्तचापको जोखिम रहने उनले जानकारी दिए ।

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शंकर लौडारीले उच्च रक्तचाप आफू रोग नभएर रोगको कारक भएको बताउनुभयो । उनले उच्च रक्तचाप समयमा नियन्त्रण गर्न नसकेको खण्डमा कालन्तरमा शरीरका विभिन्न अङ्गहरुलाई असर पार्ने बताए । “मधुमेहलाई रोग पनि मान्छौँ, कारक पनि मान्छौँ । उच्च रक्तचाप आफैँ रोग होइन, रोगको कारक मानिन्छ”, डा लौडारीले भने, “यसले मुटुमा असर पार्ने, हृदायघात र हर्टफेलियर पनि गराउन सक्छ । मुटुबाट निस्कने ठूला–साना जुनसुकै रक्तनलीलाई असर पार्नसक्ने भएकाले स्टक (मस्तिष्कको पक्षघात) लगायतका अन्य समस्या हुन सक्छन् ।”

एक पटक रक्तचाप उच्च (हाई) देखियो भन्दैमा तुरुन्त औषधि खान सुरु गर्न नहुने डा लौडारीले बताए । “रक्तचाप उच्च देखियो भने १५ देखि २० मिनेटमा पुनःपरीक्षण गर्ने, अर्काे दिन पनि परीक्षण गरेर एकिन गर्नुपर्छ”, उनले थपे । पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै मुटुरोग विशेषज्ञ डा लौडारीले फलफूल र सागपातमा पोटासियम पाइने भएकाले नियमित खान सुझाव दिए । नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने जनाउँदै उहाँले बाहिरका पत्रुखाना र प्रदूषणसँगै स्टेस (तनाव) ले पनि उच्च रक्तचाप बढाउने बताए ।

 प्रकाशित :-  २०८१ जेष्ठ ४, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय