काठमाडौं, १७ बैशाख । सरकारले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र अनुमतिबिना फोटो तथा भिडियो खिच्ने र स्वास्थ्यकर्मीलाई अवरोध पुर्याउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्तिहरूले स्वीकृतिबिना अस्पतालमा प्रवेश गरी बिरामीको गोपनीयताको हक हनन गर्ने, स्वास्थ्यकर्मीको कार्यसम्पादनमा अवरोध पुर्याउने र अशान्ति फैलाउने गरेको गुनासो प्राप्त भएको बताएको छ। यस्ता गतिविधिले समग्र उपचार प्रक्रियामै गम्भीर असर परेको मन्त्रालयको ठहर छ।
मन्त्रालयले प्रचलित कानुनको स्मरण गराउँदै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार उपचारमा बाधा पुर्याउन नपाइने र स्वास्थ्यकर्मीमाथि हातपात वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको स्पष्ट पारेको छ। साथै, मुलुकी अपराध संहिता २०७४ ले पनि अनुमतिबिना कसैको तस्बिर खिच्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै अस्पतालको पूर्वस्वीकृतिबिना भिडियो बनाउने वा फोटो खिच्ने कार्यलाई कानुनी रूपमै दण्डनीय मानिने विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयले यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सम्पूर्ण सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।
यदि कसैले मन्त्रालयको यो निर्देशन विपरीत जथाभावी फोटो, भिडियो खिचेको वा स्वास्थ्य संस्थामा तोडफोड र हातपात गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले बताएको छ। साथै, उपचारका क्रममा स्वास्थ्यकर्मी वा संस्थाबाट कुनै कमजोरी भएको महसुस भएमा गैरकानुनी मार्ग नअपनाई सम्बन्धित निकायमा उजुरी गरी तथ्यपरक छानबिन गराउन समेत सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

