काठमाडौं, १८ चैत । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साता हुनुपर्ने परीक्षा प्रतिनिधिसभा निर्वाचनका कारण केही समय धकेलिएर भोलि चैत १९ गते बिहीबारदेखि सुरु हुन लागेको हो।
परीक्षा सञ्चालनको पूर्वसन्ध्यामा शिक्षा मन्त्री सस्मीत पोखरेलसहित प्रदेश र जिल्लाका सम्बन्धित अधिकारीहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा ७७ वटै जिल्लाबाट परीक्षाको तयारी सकिएको रिपोर्ट प्राप्त भएको परीक्षा नियन्त्रकले जानकारी दिनुभएको छ। “तयारी सकिएको छ, भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुनेछ,” एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगिसकेका छन् भने केन्द्राध्यक्षहरू पनि आफ्नो कार्यक्षेत्रमा खटिसक्नुभएको छ।”
यस वर्षको परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्रहरू कायम गरिएको छ। विशेष कुरा त, यसपटक जापानको एभरेस्ट स्कुलबाट पनि २३ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्, जसका लागि जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षालाई व्यवस्थित बनाउन आवश्यक कर्मचारी र सुरक्षाकर्मीको टोली समेत परिचालन भइसकेको छ।
बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थीहरूले एसईई दिँदैछन्। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य लिङ्गी विद्यार्थी रहेका छन्। परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न बोर्डले विद्यार्थी, अभिभावक र सरोकारवाला सबैमा अपिल गरेको छ।

