काठमाडौं, ६ बैशाख । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा व्यावसायिक मर्यादा विपरीतका सामग्रीहरू सम्प्रेषण गरेको भन्दै डा. सुधीर प्रसाद साह (NMC नं. १६२३८) सँग लिखित स्पष्टीकरण माग गरेको छ। सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवामा कार्यरत डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ को अवधिमा अपलोड गरेका भिडियो सामग्रीहरूले चिकित्सकहरूको व्यावसायिक आचारसंहिता उल्लंघन गरेको काउन्सिलको ठहर छ।
काउन्सिलद्वारा जारी पत्रमा डा. साहले ‘कोड अफ एथिक्स एण्ड प्रोफेशनल कन्डक्ट २०१७’ का विभिन्न बुँदाहरू, विशेष गरी बुँदा नं. ३, ४ र ५ मा उल्लिखित आचारसंहिताको गम्भीर उल्लंघन गरेको उल्लेख गरिएको छ। काउन्सिलको नियमित अनुगमनका क्रममा ती भिडियो सामग्रीहरू चिकित्सकको गरिमा र कानुनी प्रावधान विपरीत पाइएकाले उनीमाथि निगरानी बढाइएको पत्रमा जनाइएको छ।
काउन्सिलले डा. साहलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। सो समयभित्र स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा नेपाल मेडिकल काउन्सिलको प्रचलित ऐन र नियमावली बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत पत्रमार्फत चेतावनी दिइएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा हस्ताक्षरित उक्त पत्रमा चिकित्सकहरूलाई आफ्नो पेशागत मर्यादा कायम राख्न र सामाजिक सञ्जाल प्रयोग गर्दा काउन्सिलको आधिकारिक वेबसाइटमा उपलब्ध मार्गनिर्देशनहरूको पालना गर्न समेत सचेत गराइएको छ। पछिल्लो समय चिकित्सकहरू सामाजिक सञ्जालमा सक्रिय हुने क्रम बढेसँगै काउन्सिलले आचारसंहिता पालनामा कडाइ गर्न थालेको देखिन्छ।

