काठमाडौं, २ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सवारी साधनको विवरण बुझाउनुपर्ने भएको छ ।
सरकारले सिंहदरवारस्थित सबै मन्त्रालय र त्यस अन्तर्गतका निकायहरूमा रहेका सवारी साधनहरूको अध्यावधिक विवरण माग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै मन्त्रालय, विभाग र कार्यालयहरूमा प्रयोगमा रहेका तथा मर्मत सम्भारको अवस्थामा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। प्रशासनिक चुस्तता र सरकारी सम्पत्तिको यथार्थ अवस्था पहिचान गर्ने उद्देश्यले सचिवस्तरको निर्णयअनुसार यो विवरण माग गरिएको बुझिएको छ।
कार्यालयले तोकेको ढाँचामा सवारी साधनको ब्रान्ड, मोडल, नम्बर, गियर सिस्टम र इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय) खुलाउन भनिएको छ। साथै, उक्त सवारी साधन प्रयोग गर्ने व्यक्तिको नाम, पद र सवारीको वर्तमान अवस्था समेत स्पष्ट पार्नुपर्ने उल्लेख छ। प्रधानमन्त्री कार्यालयले उक्त विवरण आगामी २०८३ वैशाख ३ गते कार्यालय समयभित्र अनिवार्य रूपमा पठाइसक्न सबै मन्त्रालयहरूलाई ताकेता गरेको छ। यस कदमले सरकारी सवारी साधनको व्यवस्थापन र प्रयोगमा थप पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।


