काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ किसिमका रोगको सचेतना अभियान संचालन गरेको छ ।
महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि भन्दै नबार्षिक क्यालेण्डर प्रकाशित गरेर महानगरभित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान संचालन गरेको हो ।
महानगरका स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाको रुपमा सचेतना अभियान संचालन गरिएको बताए । उनले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम संचालन गर्नका लागि १२ महिनमा १२ किसिमको रोगको सचेतना अभियान संचालन गरिएको बताए ।
महानगरले मङ्सिर महिनामा मात्रै उच्चरक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धि स्वास्थ्य परीक्षण गरेको छ ।
महानगरका मेडिकल अधिकृत डा. दिवस न्यौपानेका अनुसार महागरका सवै वडामा रहेका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाठ करिव ३० हजार जनाको उच्चरक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ । उनले परीक्षणको रिर्पोट अझै आइनसकेको जानकारी दिए । उनले शहरमा नसर्ने रोगहरुको प्रकोप रहेकोले परीक्षण गरिएको बताए ।
नेपालमा ७१ प्रतिशत मानिसहरु नसर्ने रोगबाट ग्रसित रहेको छ ।
महागरले पुस महिनालाई श्वासप्रश्वास सम्बन्धि रोगर सुर्तिजन्य पदार्थ विरुद्धको सचेतना महिना, माघ महिनालाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुन क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैत मानसिक स्वास्थ्य सचेतना महिनाको रुपमा अभियान संचालन गर्दै छ ।
यस्तै वैशाख आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असार ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउन नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान संचालन गर्न थालेको हो ।
भदौको उच्चरक्तचाप र असोज महिनाको मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गाैला सहितको सचेतना अभियान संचालन गरिएको छ । कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान संचालन गरिएको थियो ।
मेडिकल अधिकृत डा.न्यौपानेले यसबर्षदेखि शुरु गरिएको अभियान दशै, तिहार र उपनिर्वाचनका कारणले समयमा नै संचालन गर्न नसकिएको बताए ।
उनले अवदेखि हरेक बर्ष सचेतना अभियानलाई महाअभियानको रुपमा संचालन गर्ने बताए ।

