काठमाडौं । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले कुनै पनि विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार र रेक्टर नियुक्त गर्दा हाल बहालवाला प्राध्यापक वा सहप्राध्यापक तथा सहायक प्राध्यापक मध्येबाटै गर्नु पर्ने बताउनुभएको छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्रीलाई सुझाब दिदै यस्तो बिचार व्यक्त गर्नुभएको हो ।
अवकाशप्राप्त प्राध्यापकलाई सेवा आयोगको अध्यक्ष तथा अनुसन्धान केन्द्रका निर्देशक जस्ता पदमा नियुक्त गर्ने तर उपकुलपति, रजिष्ट्रार र रेक्टर चाहिँ बहालवालामध्येबाटै नियुक्त गर्ने नीति बनाउनु पर्ने अधिकारीको भनाई छ । उहाँले विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री र सहकुलपति समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई दिएको सुझावमा भनिएको छ, “कुनै पनि विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार र रेक्टर नियुक्त गर्दा हाल बहालवाला प्राध्यापक वा सहप्राध्यापक वा सहायक प्राध्यापकमध्येबाटै गर्नु पर्दछ । अवकाशप्राप्त प्राध्यापकलाई सेवा आयोगको अध्यक्ष तथा अनुसन्धान केन्द्रका निर्देशक जस्ता पदमा नियुक्त गर्ने, तर उपकुलपति, रजिष्ट्रार र रेक्टर चाहिँ बहालवालामध्येबाटै नियुक्त गर्ने नीति बनाउनु पर्दछ ।”
उपकुलपति, रजिष्ट्रार र रेक्टरमा नियुक्त गर्दा प्राध्यापक श्रेणीकै हुनु नपर्ने, विश्वविद्यालयमा कम्तीमा १० वर्ष प्राध्यापन गरेका सहप्राध्यापक वा सहायक प्राध्यापकलाई पनि नियुक्त गर्ने उदार नीति लिन पनि सुझाव दिनुभएको छ ।
सुझावपत्रमा भनिएको छ, “धेरै पुराना प्राध्यापकका तुलनामा सहप्राध्यापक वा सहायक प्राध्यापकको नियुक्ति गरिँदा प्रविधि, अनुसन्धान एवं योजनामा अद्यावधिक् सिप एवं ज्ञान भएका नयाँ पुस्ता नेतृत्वमा आउने र नेपालका विश्वविद्यालयको अन्तरराष्ट्रिय गुणस्तर अभिवृद्धि गर्न सकिने सम्भावना बढी हुन्छ ।”
नेपालका विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापक वा सहप्राध्यापक वा सहायक प्राध्यापकको सिद्धान्त वा अन्य अनुसन्धान विदेशी विश्वविद्यालयहरूका पाठ्यक्रममा समावेश भई पठनपाठन हुने गरेको रहेछ भने विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा प्राथमिकता दिनु उपयुक्त हुने उहाँको सुझाव छ । यसैगरी, अनुसन्धान क्षेत्रमा विश्वप्रतिष्ठित पुरस्कार, सम्मान, शोधवृत्ति, प्रतिलिपि अधिकार आदि प्राप्त गरेका प्राध्यापक वा सहप्राध्यापक वा सहायक प्राध्यापकलाई विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रको कार्यकारी नेतृत्वमा नियुक्त गर्न प्राथमिकता दिनु उपयुक्त हुने सुझावपत्रमा उल्लेख छ ।

