काठमाडौँ, २३ जेठ । सरकारले यहि जेठ १३ गते देखि संचालन गरेको पोलियो रोग विरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तराईका अधिकाङ्श जिल्लामा तातो हावा संगै ‘लू’ चलेकोले खोप अभियान प्रभावित भएको बताए ।
“ तराई अधिकांश जिल्लामा ‘लू’ चलेको हुनाले विद्यालय बन्द भएका छन् । कतिपय विद्यालयमा खोप कार्यक्रम संचालन भएपनि बीचमै रोकिएको छ,” उनले भने, “अव भने पानी पनि पर्न थालेको छ । तराईमा शितलता पनि भएकोले अव विद्यालय खुल्ने र पुनः खोप अभियान संचालन गर्दछौ ।”
उनका अनुसार अहिलेसम्म चार लाख १७ हजार ५३६ जना बालबालिकाले पोलियो विरुद्धको खोप लगाइसकेका छन् । यो २८.५ प्रतिशत हो । “अहिलेको खोप लगाएको तथ्याङक ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन वाँकी छ,” उनले भने, “खोप अभियान राम्रो चलेको छ । हामी लक्ष्य अनुसार नै खोपको कभरेज ९५ प्रतिशत पुर्याउँछौ ।”
खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ ।
यहि जेठ २६ गतेसम्म संचालन हुने अभियानमा पोलियो विरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ ।
स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान संचालन गर्ने छ ।
खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकोले यसबर्ष सरकारले खोप अभियान संचालन गर्नुपरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ ।

