झापा, । मेचीनगर नगरपालिका–१४ की सदीक्षा थापा ९नाम परिवर्तन० १५ वर्षको कलिलो उमेरमै लागुऔषध दुर्व्यसनकी अम्बली बनिन् । कक्षा नौ पढ्दै गरेकी उनी लागुऔषधकै कारण पढाई छाडेर सडकमा पुगिन् ।
कोठाबाट बाहिर ननिस्कने, कसैसँग बोल्न नरुचाउने र खानामा रुचि नदेखाउने उनलाई घरपरिवारले सुरुमा बेवास्ता गर्दा लागुऔषधको दलदलमा फस्न पुगेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । हाल उनलाई आफन्त र स्थानीयवासीको सहयोगमा विर्तामोडस्थित सुधार केन्द्रमा राखिएको छ ।
उनीजस्तै सयौँ बालबालिकालाई लागुऔषध दुव्यर्सनबाट बचाउन जिल्लामा प्रहरीले ‘दुव्यर्सनविरुद्ध आमा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकासँग आमाले समय बढी बिताउने र उनीहरुको बानी व्यवहारमा जानकारी राख्ने हुँदा आमालाई नै लक्षित गरेर कोसी प्रदेशका १४ जिल्लामा ‘दुव्र्यसनविरुद्ध आमा’ कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशोदा घलेले जानकारी दिए।
सो कार्यक्रम झापामा प्रभावकारी बन्दै गएको भन्दै जिल्लाका १५ पालिकामध्ये १३ पालिकामा लागुऔषध नियन्त्रणका लागि पालिकास्तरीय समितिसमते गठन गरिएको उहाँले बताउनुभयो । प्रहरीले पालिकामा रहेकोे समितिसँग मिलेर जिल्लाका विभिन्न स्थानमा आमाहरुसँग अन्तक्र्रिया र सचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए।
“बालबालिकाहरु धेरै समय आमासँगै बिताउँछन् । आमाले छोराछोरीमा आएको परिवर्तन सहजै महसुस गर्ने हुँदा उहाँहरुलाई नै लक्षित गरेर कार्यक्रम गरिरहेका छौँ । प्रभावकारी भइरहेको महसुस भइरहेको छ”, प्रहरी निरीक्षक घलेले भने ।
प्रहरी निरीक्षक घलेले सन्तानका गलत क्रियाकलापलाई प्रोत्साहन नगर्न, उनीहरुमा आएको परिवर्तनप्रति निगरानी बढाउन र छोराछोरीको साथीसङ्गतबारे जानकारी राख्ने काम आमाबाट भए मात्र लागुऔषध दुव्र्यसनबाट बचाउन सकिने बताए । उनले सन्तानको स्वास्थ्य र भविष्यको निमित्त आमा नै बढी चिन्तित हुनेहुँदा उनीहरुको दैनिकीप्रति सचेत रहन आग्रह गरे ।
प्रहरी निरीक्षक घलेले पछिल्लो समय बाबुआमाहरुको वैदेशिक रोजगारप्रतिको बढ्दो चाहना, गरिबी, अशिक्षा र अभिभावकमा चेतना कमीलगायत कारणले पनि लागुऔषध प्रयोगकर्ता जिल्लामा बढिरहेको बताए । जिल्लाका विभिन्न स्थानमा अध्ययन र अनुसन्धान गर्दा शिक्षित भनिएका बालबाललिका नै लागुऔषधको कुलतमा फसेको पाइएको उनले जानकारी दिए ।
प्रहरी निरीक्षक घलेका अनुसार जिल्लामा कक्षा १० देखि १२ कक्षामा अध्ययन गर्ने ४१ दशमलव ९० प्रतिशत शिक्षित भनिएका बालबालिका लागुऔषधको दुर्व्यसनमा फसेको छन् । यसैगरी कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३४ दशमलव २० प्रतिशत, कक्षा १ देखि पाँचसम्म अध्ययनरत १५ दशमलव ९० प्रतिशत, स्नातकभन्दा माथि छ दशमलव ३० प्रतिशत र अशिक्षित एक दशमलव ७० प्रतिशत लागुऔषध दुर्व्यसनमा फसेका उनले बताए ।
प्रहरी निरीक्षक घलेले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा दुई सय ९६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए । उनले स्कुल कलेजका विद्यार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका बासिन्दा, लागुऔषध सेवनकर्ता, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका बस्तीका बासिन्दाका साथै विभिन्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी निरन्तररुपमा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

