काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रसूति गृह (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ) सबैको आशा र भरोसाको केन्द्र भएको बताएका छन् ।
कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले प्रसूति गृहले महिला स्वास्थ्यका क्षेत्रमा पुर्याइरहेको योगदानको स्मरण गर्दै सबै बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले भने, ‘प्रसूति गृहले प्रदान गर्ने सेवा उदाहरणिय छ । अरु अस्पतालले पनि यसबाट पाठ सिक्नु पर्छ । ’
उपचार सेवाका साथै प्रसूति गृहले नर्सिङ र विशेषज्ञ चिकित्सक उत्पादनमा पनि योगदान गरिरहेको बताउदै मन्त्री बस्नेतले अहिले पढाई रहेको संख्या न्यून भएकाले कोटा बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति थप नगरिएकोले गुणस्तरीय उपचार सेवा प्रदान गर्न मुस्किल भएको बताउदै स्वास्थ्यमा अहिले ९२ हजार थप जनशक्ति आवश्यक भए पनि ३२ हजार थप्नै पर्ने गरि गृहकार्य अगाडि बढाएको जानकारी दिए । वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको स्वास्थ्य मन्त्रीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले प्रसूति गृहले अहिले सञ्चालन गरिरहेको ४८९ शैयाले सेवाग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको बताउदै अस्पतालको यो नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताए । प्रसुति गृहको सेवाबाट आफु पनि प्रभावित भएको स्मरण गर्दै डा. पोखरेलले अझै स्तरीय सेवाका लागि जनशक्तिको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने आश्वासन दिए ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पातालको नयाँ भवनमा विशिष्टिकृत सेवाका अलावा नर्सिङका विद्यार्थीहरुका होस्टेल र तालिममा आउने स्वास्थ्यकर्मीका लागि आवाशको व्यवस्था गरिने जानकारी दिए ।
४३ करोड लगानीमा निर्माण सम्पन्न भएको साडे पाँच तले भवनका सेवा एक महिना भित्रै सञ्चालनमा आउने डा. अधिकारीले जानकारी दिए । कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले अस्पतालले प्रदान गरिरहेको सेवा अझै बिस्तार हुनु पर्ने आवश्यकता रहेको बताइन ।
अस्पतालमा अहिले आठ सय जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । विसं २०१६ सालमा स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल एक मात्र देशको सरकारी स्तरको विशिष्टिकृत प्रसूति तथा स्त्री रोग अस्पताल हो ।

