काठमाडौं, । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबिच बिहीबार उद्घाटन गरेका छन् ।

सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् ।

इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।
स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए । चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दावी गर्दै चिकित्सा शिक्षा ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने ढोका खोल्न आफु र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए ।
‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन । मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन । यहाँ नपाएपछि उनीहरुले पढ्नकै लागि विदेशिनु परिरहेको छ, मन्त्री बस्नेतले भने, ‘ ऐन संसोधन गरेर यो अवस्था अन्त गर्छौ,’ नेपालमा मेडिकल शिक्षाका प्रचुर संभावना भए पनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाडै १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ तथा प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैया भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई सुरु गरिने दावी गरे ।

यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दावी छ ।

राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृति नेपालमा कुनै नौलो नभएको बताउदै मन्त्री बस्नेतले आफुलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफुलाई कसैले पनि रोक्ने नसक्ने बताए । सिविन नेपाल सहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधै तयार रहेको बताए ।

मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

इकाईका प्रमुख डा.अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।

 प्रकाशित :-  २०८० माघ २५, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय