काठमाडौं, १७ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा पनि सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै देशभरका सरकारी अस्पतालहरूमा ओपिडी (बहिंरग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मिति २०८३ साल वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण बिरामीहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो।
मन्त्रालयका अनुसार लामो समयसम्म अस्पतालका सेवाहरू बन्द हुँदा सेवाग्राहीहरू मर्कामा पर्ने र स्वास्थ्य उपचारमा गम्भीर असर पर्न सक्ने अवस्था देखिएको छ। यसै परिप्रेक्ष्यमा, बिरामीहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालहरूमा ओपिडी सेवा सुचारु राख्न सम्बन्धित अस्पताल प्रशासनहरूलाई विशेष अनुरोध गरिएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा नागरिकको पहुँच सुनिश्चित गर्न यो कदम चालिएको उल्लेख छ। बिदाको समयमा पनि अस्पतालका ओपिडी सेवाहरू खुला रहने भएपछि नियमित जाँच र परामर्शका लागि आउने बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।


