काठमाडौंँ, १५ पुस ः सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिव पाँच लाख मात्रा फेरि ल्याइएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीका अनुसार हिजो राती चार लाख ९६ हजार २८० मात्रा खोप आएको बताए । यसभन्दा अघि दुई पटक खोप आइसकेको छ ।
उनले खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए । उनले यसअघि नेपाल आएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको जानकारी दिए ।
‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल आइपुगेको हो ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान संचालन गर्न थालेको छ ।
१५ दिने अभियानअन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
नेपालमा हरेक बर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

 

 प्रकाशित :-  २०८१ पौष १५, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय