काठमाडौँ, १० कात्तिक ः सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ अभियान संचालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षसम्म उमेर समूहका बालिकालाई खोप अभियान संचालन गर्ने थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार ति उमेर समूहका करिव १६ लाख ८८ हजार किशोरीले ‘एचपिभी’ खोप लगाउने छन ।
उहाँले खोप माघ महिना १५ दिनसम्म प्रत्येक पालिकाका माध्यमिक विद्यालयमा संचालन गरिने छ ।
उहाँले नेपालमा यो अभियान क्यान्सर रोग विरुद्धको सवभन्दा ठूलो अभियान रहेको बताउनुभयो ।
“विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउँछौ” उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका किशोरिलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउँछौ ।”
यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा ‘एचपिभी’ खोप नौ हजार ९ सय ९९ किशोरीलाई खोप लगाएको थियो ।
नेपालमा हरेक बर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
खोप शाखाका प्रमुख डा. गौतमले सरकारले निःशुल्क उपलब्ध गराउन थालिएको उक्त खोप बाहिर लगाउदा करिव छ हजार रुपियाँ पर्ने जाने गरेको बताउनुभयो ।
‘एचपिभी’ खोप “भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को केही सहयोग र सरकारले पनि खरिदका लागि लगानी गरेको छ ।
उहाँले अर्कोबर्षदेखि ‘एचपिभी’ खोपलाई नियमित खोप अभियान अन्तर्गत राखिने जानकारी दिनुभयो । खोप एक पटक लगाएरपछि जीवनभरका लागि हुने उहाँको भनाई रहेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने बताउनुहुन्छ ।
उहाँले ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ । उहाँले खोप ९९ प्रतिशत प्रभावकारी रहेकोले सवै किशोरीले खोप लगाउनुपर्ने बताउनुहुन्छ ।
नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

