काठमाडौं, ७ मंसिर । नेपामा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसको रुपमा मनाइको छ । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा स्वास्थ्य प्रवर्द्धन आजको आवश्यकताःः दीगो स्वास्थ्यको सुनिश्चितता भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

संघका महासचिव डा. भक्त बहादुर केसी स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतिमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाइएको थियो ।

खास गरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने र यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका रणनीतिहरु पेश गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न सरोकारवालाहरूमाझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवीगर्नुपर्ने धारणा राखे । उनले स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास गर्नुपर्ने, पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र स्वास्थ्य साक्षरता बढाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशव राज पण्डितले अर्को वर्षदेखि दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचारका पूर्व निर्देशक रमेश चन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

नेपाल चिकित्सक संघका महासचिव डा. संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याए ।

संघका कार्यवाहक अध्यक्ष हेमराज खड्काले दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गरे । साथै उनले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै विद्यमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिए।

स्वास्थ्य प्रवर्द्धन र शिक्षाा संघ नेपाल स्वास्थ्यकर्मीको हकहितको लागि आवाज उठाउदै आएको पेशागत संगठन हो र यसको स्थापना सन् २०१३ मा भएको थियो ।

 प्रकाशित :-  २०८१ मंसिर ७, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय