काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक डा.पङ्कज रायले निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन कान्ति अस्पतालसंग सहकार्य गरेको महानगरले जनाएको छ।

चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि काठमाडौं महानगरले ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

महानगरबासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य भएको महानगरले जनाएको छ।

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए।

यस्तै स्वास्थ्य सल्लाहकार डा। जगदीश अग्रवालले, बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त हुने अपेक्षा व्यक्त गरे।

सम्झौताअनुसार अस्पतालले मोडुलर ओटि बनाउन लागतअनुमान तयार पार्नेछ। सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ।

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ। यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ। यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ।

निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।

 प्रकाशित :-  २०८१ कार्तिक २७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय