कैलाली, ७ असोज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । जिल्लाका तेह्र वटै स्थानीय तहका गाईभैँसी, बाख्रा र बङ्गुरमा गरी एक लाख एघार हजार ३८ पशुमा खोप लगाएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए ।

उहाँकानुसार धनगढी उपमहानगरपालिकामा १४ हजार चार सय ८५, गोदावरी नगरपालिकामा १३ हजार ३००, गौरीगङ्गा नगरपालिकाका सात हजार २९१, घोडाघोडी नगरपालिकाका सात हजार ३५६, लम्किचुहा नगरपालिकामा नौ हजार ९६१, टीकापुर नगरपालिकामा आठ हजार ५०० र भजनी नगरपालिकामा नौ हजार ९९५ पशुलाई उक्त खोप लगाइएको छ ।

यस्तै बर्दगोरिया गाउँपालिकामा आठ हजार, कैलारी गाउँपालिकामा नौ हजार ९००, जानकी गाउँपालिकामा नौ हजार ९००, चुरे गाउँपालिकामा एक हजार ६५० र मोहन्याल गाउँपालिकामा आठ सय पशुलाई खोप लगाएको छ ।

प्रत्येक स्थानीय पालिकामा १० हजारका दरले खोप लगाउने लक्ष्य रहेको सूचना अधिकारी कठायतले बताए । खुरफट्टा जनावरमा लाग्ने महामारी खोरेत रोग नियन्त्रणका लागि अभियान नै सुरु गरिएको कार्यालय प्रमुख डा हेमराज अवस्थीले बताए । “प्रत्येक पालिकालाई पशुवस्तुको सङ्ख्याका आधारमा विभाजन गरेर खोरेत खोपको डोज वितरण गरेका छौँ”, उनले भने,“यो रोग महामारीको रूपमा फैलिँदा विभिन्न प्रजातिका जनावर प्रभावित हुने भएकाले अभियानकै रूपमा खोप लगाइरहेका छौँ ।”

उनका अनुसार यो रोग लागेमा मुखभित्र ९गिँजा, जिब्रो, थुतुनो अदिमा० स–साना पानीका फोका देखापर्ने, अत्यधिक ज्वरो आउने, दूधालु गाईभैँसीले अचानक दूध दिन कम गर्नेरछोड्ने, जनावरको खुरको कापमा फोका र घाउ देखिने, खुर पाक्ने, कल्चौँडो र थुनमा घाउ देखिने तथा थुनेलोसमेत हुनसक्ने, एक दुई दिनपछि पानीको फोका फुटी आलो घाउ देखा पर्नुका साथै लस्सादार र्याल बग्नेलगायत लक्षण देखिन्छन् ।

“रोगी पशुको प्रत्यक्ष सम्पर्क, विषाणुको लसपस भएको घाँसपात, दानापानी, सोत्तर आदिबाट, रोगी पशुको मासु, काँचो दूध तथा हेरचाह गर्ने व्यक्तिबाट र हावाको माध्यमबाट रोग सर्ने गरेको छ”, कार्यालय प्रमुख डा अवस्थीले भने,“यस रोगबाट बचाउन आफूले पालेका खुरफट्टा जनावरलाई प्राविधिकको सल्लाहअनुसार अनिवार्य रूपमा खोप लगाउने, अन्यत्र स्थानबाट पशुवस्तु ल्याउँदा खोप लगाइएका पशु मात्र ल्याउने, स्रोत नखुलेका पशुहरू घरगोठमा रहेका पशुवस्तुभन्दा सात दिनसम्म अलग्गै राख्ने, रोगी पशुवस्तुलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण वा ओसारपसार नगर्ने लगायतका क्रियाकलापमा ध्यान दिन जरुरी हुन्छ ।”

खोरेत रोगको खोप वर्षको दुई पटक लगाइने गरिन्छ ।

 प्रकाशित :-  २०८१ आश्विन ७, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय