भक्तपुर, ५ असोज । बागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशको भोलिदेखि सुरु हुने प्रदेशसभाले स्वास्थ्य विधेयक पारित गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्दै लैजाने बताएका छन् ।
शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न १७औँ वार्षिक साधारणसभामा उहाँले स्वास्थ्य विधेयक पारित भएपछि वर्षौंदेखि नवीकरण नभई रहेका अस्पतालको नवीकरण हुने बताए ।
मन्त्री थापाले भने, “स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन् । निजी अस्पतालका रोकिएको नवीकरण हुनेछन् । एक सय शय्याका अस्पताललाई नर्सिङ र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ । यसले विद्यार्थी अध्ययनका लागि विदेसिनबाट रोकिनेछ ।”
यस वर्ष नर्सिङ अध्ययन गर्न ८०० कोटा खुल्ला गरेकामा ६ हजार ४०० को आवेदन परेको र एमबिबिएसमा एक हजार ७०० कोटा खुल्ला गर्दा सात हजारले फाराम भरेको बताउँदै उनले बाँकी विद्यार्थी पढ्नकै लागि विदेसिने गरेको पाइएकाले यही पर्याप्त मात्रामा नर्सिङदेखि एमबिबिएससम्मका अध्ययन सञ्चालन गर्न सके विद्यार्थी विदेसिने क्रम राकिने बताए ।
मन्त्री थापाले सञ्चालकले नै सहकारीको रकम दुरुपयोग गरी घरजग्गामा लगानी गर्ने, कतिपयल धितो मूल्याङ्कन नै नगर सस्तोमा ऋण दिने गरेका कारा सहकारी डुबेको भन्दै स्थानीयस्तरमा नियमभित्र रहेर सञ्चालनमा रहेका सहकारी अझै पनि राम्रो र विश्वासिलो रहेको बताए । उनले मध्यपुरथिमिको शङ्खधर प्रतिष्ठानलाई मिनी म्युजियम बनाउन बागमती प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको भन्दै निर्माणका क्रममा रकम अभाव भए थप गर्दै लैजाने बताए ।
शङ्खधरको नाफा ८२ लाख ६२ हजार
कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष न्हुच्छेराज बज्राचार्यले आर्थिक प्रतिवेदन सचिव लक्ष्मीभक्त श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले आर्थिक वर्ष २०८०र८१ मा रु ८२ लाख ६७ हजार ७९४ खुद नाफा गरेको छ । गत वर्ष रु ७० लाख सात हजार ९८९ खुद नाफा गर्न सफल संस्थाले यस वर्ष १२ लाख ५९ हजार ८०४ रुपैयाँ खुद नाफा वृद्धि गरेको संस्थाका ऋण उपसमितिका सदस्य रत्नकृष्ण श्रेष्ठले जानकारुी दिए ।
संस्थाले आव ०८०र८१ मा ४७ करोड २१ लाख ७५ हजार ४६५ रुपैयाँ बचत निक्षेप सङ्कलन गर्न सफल भएको र ३० करोड ८९ लाख ४२ हजार ८६२ रुपैयाँ ऋण लगानी गरेको, ६८ लाख ९९ हजार ५७० जगेडा कोषमा राखेको र संस्थाको कुल सम्पत्ति वृद्धि गर्दै ५८ करोड ३५ हजार ९६८ पुर्याउन सफल भएको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित :- २०८१ आश्विन ५, शनिबार

