कठमाडौँ, १ असोज ः आज नेपाल सहित विश्व बिरामी सुरक्षा दिवस मनाइदै छ ।
‘निदानमा सुधार ः बिरामी सुरक्षाको आधार’ भन्ने मुल नाराका साथ दिवस मनाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलेले दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै विरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नका साथै विरामी सुरक्षाको सुनिश्चिता गर्न विद्यमान नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विरामीमा हुनसक्ने हानी न्यूनिकरण गर्न सहयोग गर्ने बताए ।

उनले विरामी, स्वास्थ्यकर्मी तथा नीति निर्माताहरुबीच पारस्परिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको बताए ।
विरामीको रोगको लागि सहि निदानात्मक प्रक्रियालाई विशेष जोड दिइएको भन्दै सहि र सुरक्षित निदान प्रक्रिया मार्फत निदानात्मक त्रृटीहरुलाई न्यूनिकरण गर्न र प्रणालीगत तथा मानविय क्षमता अभिवृछि गर्न विरामी स्वय, उहाँको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सवैको महत्वपुर्ण भूमिका रहने उल्लेख गर्नु भएको छ ।

मन्त्री पौडेलले नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन लगायत उपभोक्ता संरक्षण ऐनले समेत विरामी सुरक्षालाई प्राथमिकतामा राखेको सन्र्दभमा हालै मात्र मन्त्रालयबाट स्वकृत राष्ट्रिय विरामी सुरक्षा कार्य योजना २०२४—२०३० ले थप दिशानिर्देश गरेको बताए ।

उनले विरामी सुरक्षाको सुनिश्चिता गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवाहरुमा निरन्तर पहल भइरहेको बताए । “यी पहललाई अर्थपूर्ण वनाउन उपलब्ध स्रोत, साधन, उपकरण र जनशक्तिको उपयोग गर्दै विरामीको स्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि गरि निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन यस बर्षको दिवसले थप उर्जा प्रदान गर्ने छ भन्ने अपेक्षा राखेका छौ” उनले भने ।

दिवस बिरामीको सुरक्षामा सुधार गर्न र स्वास्थ्य संस्थाहरुमा हुनसक्ने क्षति÷हानि कम गर्न बिरामी, स्वास्थ्यकर्मी, नीति निर्माता, र स्वास्थ्य सेवा क्षेत्रमा रहनु भएका नेतृत्वहरू बीचमा जनचेतना बढाउने, विश्वव्यापी बुझाइ बढाउन र पैरवी गर्ने अवसर हो ।

असुरक्षित हेरचाहका कारण वार्षिक ३० लाखभन्दा बढीको मृत्यु हुने र विश्वभरका हरेक १० बिरामीमध्ये एक जना स्वास्थ्य सेवाको क्रममा हानि हुने गरेको अध्ययनले देखाएको छ ।

न्यून देखि मध्यम आय भएका देशहरूमा सय मध्ये चार जनाको असुरक्षित हेरचाहका कारण मृत्यु हुने गरेको छ । यीमध्ये ५० प्रतिशत हानी भन्दा बढी औषधीले गर्दा हुने गर्दछ भने भने करिब ५० प्रतिशत रोकथाम गर्न सकिने स्वास्थ्य सेवा विभागका राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तवहादुर केसीले बताए ।

औषधीसँग सम्बन्धित त्रुटि, असुरक्षित शल्यक्रिया प्रक्रिया, संक्रमण, निदानका क्रममा हुने त्रुटि, बिरामीको गलत पहिचान र असुरक्षित रक्तक्षेपण जस्ता कारणले विरामीलाई हानी हुने उनको भनाई रहेको छ ।
रोकथाम पहल र प्रभावकारी उपचारको लागि सही र समयमै निदान गर्नु, त्रुटिहरू कम गर्नको लागि निदान प्रक्रिया बुझ्नु महत्वपूर्ण रहेको बताए ।

बिरामीको स्वास्थ्य समस्या, पूर्ण परीक्षण, निदान परीक्षणहरूमा सुधारिएको पहुँच बढाउन आवश्यक रहेको छ ।

वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीले निदान त्रुटिहरूको विश्वव्यापी जागरूकता बढाउनुहोस् र बिरामी सुरक्षा सुधार गर्न सही, समयमै, र सुरक्षित निदानको महत्वलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपालमा स्वास्थ्य सेवा र बिरामी सुरक्षाका लागि नीति र कानुनी ढाँचा, प्रक्रियागत दिशानिर्देशहरू र निगरानी दिशानिर्देसहरूको विकास र कार्यान्वयनमा क्रमिक प्रगति भइरहेको छ ।

यस्तै नेपालमा निदान त्रुटि र सुरक्षा संस्कृतिको स्थितिको बारेमा पर्याप्त अध्ययनको अभाव औल्याइएको छ ।
नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१ ले स्वास्थ्य संस्था स्तरमा निदान सेवा र अभ्यासहरूमा गम्भीर चुनौतीहरुलाई उजागर गरेको र यसले बिरामीको सुरक्षामा जोखिम निम्त्याउने उनको भनाई रहेको छ ।

आधारभूत स्वास्थ्य संस्थाहरूको पहुँचमा प्रगति भएता पनि, आवश्यक निदान सेवाहरूको उपलब्धता प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरु र अस्पतालहरूमा केन्द्रित छ जहाँ जनस्वास्थ्य सेवाहरूको लागि सीमित निदान सुविधाहरू छन् ।

गर्भावस्था ४३ प्रतिशत, बालबालिकाको लागि हेमोग्लोबिन र दिसा परीक्षण १२ प्रतिशत, मलेरिया ३६ प्रतिशत, र क्षयरोगको निदान २३ प्रतिशत, र एचआईभी परीक्षण ५ प्रतिशत मात्र स्वास्थ्य संस्थाहरुमा उपलब्ध रहेको तथ्याङ्क देखाएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीले बताए ।

 

 

 प्रकाशित :-  २०८१ आश्विन १, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय