काठमाडौँ, ः सरकारले देशभरिका बालबालिकालाई नै पोलियो रोग विरुद्धको खोप अभियान संचालन गर्दै छ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान लगाउन थालेको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले पोलियो रोगबाट बचाउनका लागि देशभरिका करिव १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ लगाउन थालिएको जानकारी दिए ।
उनले पोलियो रोगको सङ्क्रमण अझै पनि रहेकोले अभियान संचालन गर्न थालिएको बताए ।
उनका अनुसार विस २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन थालिएको हो ।
सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभि’ खोप उत्पादन हुन नसकेपछि ति उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेका थिए ।
खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ( गाभी)ले ३२ करोड रुपिया बराबरको खोप उपलब्ध गराइसकेको छ । “ नियमित रुपमा ति बालबालिकालाई लगाइने पोलियो विरुद्धको खोप गाभीले त्यतिवेला उपलब्ध गराउन सकेको थिएन,”उनले भने, “तर अहिले फेरि गाभीले खोप उपलब्ध गराएपछि खोप लगाउन थालिएको हो ।”
नियमित तर्फ पोलियो विरुद्धको ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियो विरुद्धको खोप ‘आइपिभि’ दिइने छ ।
सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ ।

 

 प्रकाशित :-  २०८१ बैशाख २२, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय