काठमाडौँ, । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘पहिलो अन्तराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ हुन थालेको छ मानसिक स्वास्थ्यको उपचार ग्रामीण क्षेत्रमा पुर्याउनेका लागि मानसिक स्वास्थ्य सम्मेलन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए ।
प्रतिष्ठान र अमेरिकास्थित म्यासाचुसेट्स जनरल अस्पतालको सयुक्त आयोजनामा ‘सवैको मानसिक स्वास्थ्यका लागि नवप्रर्वतन तथा सहकार्य’ भन्ने नाराका साथ सम्मेलनमा यहि वैशाख २२ र २३ गते संचालन हुने छ ।
“मानसिक स्वास्थ्यको उपचार काठमाडौँ बाहिर पहुँच पुगेको छैन, ”उनले भने “काठमाडौँ बाहिर उपचारको पहुँच पुर्याउनका लागि सम्मेलन गर्न थालिएको हो ।”
सम्मेलनमा मानसिक स्वास्थ्यमा काम गर्ने संस्था, मानसिक स्वास्थ्यमा काम गर्ने युवा विद्यार्थी गरि दुई सय जना सहभागि हुने छन् ।
अमेरिकास्थित म्यासाचुसेट्स जनरल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेलले जुम्ला जस्तो विकट ठाउँमा मानसिक चिकित्सक नजाने र त्यहाका विरामीले उपचार नपाउने भएकोले चिकित्सकलाई त्यहाँ जान प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरिएको बताए । “जुम्ला जस्तो ठाउँमा मानिसक चिकित्सक उपलब्ध नहुने र जानै मन नलाग्ने जस्ता समस्या रहेका छन, ” उनले भने “हामीले चिकित्सकलाई भावना जगाउन नै जुम्लामा अन्तराष्ट्रिय सम्मेलन गरौ भनेर आयोजना गर्न थालको हो ।”
उनले सम्मेलनमार्फत केही बर्षमा कर्णालीमा मानसिक स्वास्थ्यमा केही परिवर्तन ल्याउने बताए ।
मानसिक रोग विशेषज्ञले मात्र नभई अन्य चिकित्सकले पनि मानसिक समस्या भएकोलाई उपचार गर्न सक्ने उनको भनाई रहेको छ ।
सम्मेलनमा सामुदायिक स्तरमा मानसिक स्वास्थ्यमा काम गरेका विभिन्न ४६ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने छन् ।
अमेरिकास्थित हार्वड स्कुल मेडिकल स्कुलका सहप्राध्यापक समेत रहनु भएका डा. पौडेलले सम्मेलनमा विभिन्न संघसंस्थाले गरेका कामबारे छलफल गरी कर्णालीमा मानसिक स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्ने बताए ।
कतिपय मानसिक रोगहरु गाउँमा रहेपनि धेरै जसो शहरमा बस्ने मानिसमा मानसिक स्वास्थ्य समस्या रहने मानसिक रोग विशेषज्ञ डा.पौडेलले जानकारी दिए ।
विश्वमा २० देखि २५ प्रतिशत मानिसहरुलाई मानसिक स्वास्थ्य समस्या देखिने गरेका छन् ।
प्रतिष्ठानमा मानसिक रोग विभाग भएपनि चिकित्सक नभएपछि उपचारमा समस्या रहेको छ ।
कर्णाली प्रदेशमा डिप्रेसन, अल्जाइमर, भूकम्प, आगलागी जस्ता महामारी पछि देखिने समस्या, सुत्केरी पछि देखिने जस्ता समस्या लगायत मानसिक समस्या देखिने गरेको प्रतिष्ठान आकस्मिक विभाग प्रमुख डा. तुलाकृष्ण गुप्ताले जानकारी दिए । उनका अनुसार दुई बर्षमा दुई हजार ९२२ मानसिक रोग भएका उपचार गर्न आएका थिए । यस्तै तिमध्ये २१ देखि ३० बर्ष उमेरका सवभन्दा बढी रहेका थिए । उपचार गर्न आएका विरामीमध्ये धेरैमा डिप्रेसनका विरामी रहेको बताए । ।
उनले बहिरङ्ग सेवामा आएका ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्यमा समस्या देखिएको बताए । उनले मानसिक विभाग भएपनि चिकित्सक नहुँदा विरामीको उपचारमा समस्या भएको बताए ।

