काठमाडौँ, ।ः सरकारले यहि वैशाख ६ र ७ गते (विहिबार र शुक्रबार)बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ संचालन गर्दै छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सवै तयारी पुरा भएको जानकारी दिए ।
उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
उनले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताए ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
उनले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयमसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।
पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसंगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने उनले बताए । ।
“भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयसेविकाले सोध्ने गर्दछन ”उनले भने, “ यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्यसंस्थामा गई खोप लगाउन महिला स्वयमसेविकाले अनुरोध गर्दछन् ।”
सरकारले प्रत्येक आर्थिक बर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

