नेपालगञ्ज । बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ । ६० वर्ष उमेर पुगेका उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाइ गरे ।
स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिए । महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताए ।

उनले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिए । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भनी प्रशंसा गरे ।
बाँकेका सबै स्थानीय तहमा कूल ३५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा बर्सेनि चार सयको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो ।

 प्रकाशित :-  २०८० चैत्र १८, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय