मुग्लिन । भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ । बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ । अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए ।
गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो । बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालको ओपिडी, सर्जरी, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिकसहितका विभागमा सुधार ल्याएको डा. तिवारीको भनाइ छ ।
“भरतपुर अस्पताल सुधारका लागि विधिविधान र प्रक्रियाको थालनी नै मेरो मुख्य लक्ष्य हो”, मेसु डा तिवारीले भने, “पहुँचका आधारमा नभई पद्धतिका आधारमा अस्पतालमा पसेर सेवा लिनसक्ने अवस्थाको सिर्जना गराउँदैछु ।”
बिरामीलाई सहज र चाँडै सेवा प्रदान गर्ने उद्देश्यसहित बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको उनले बताए । भरतपुर अस्पतालको सेवा सुधारका लागि अन्तरङ्गतर्फ विभिन्न शय्या, पूर्वाधार, उपकरणसहितका सेवासुविधा थप गरिएको डा. तिवारीले बताए ।
“अस्पताल आउने ज्येष्ठ नागरिकलाई सहज उपचारका लागि सात श्यया थप गरिएको छ”, उनले भने, “ज्येष्ठ नागरिकको श्ययामा अन्य बिरामीलाई राखेर उपचार गर्दैनौँ, लक्षित वर्गको श्ययामा उहाँहरुले नै सेवा पाउनुहुनेछ ।” त्यसैगरी सघन उपचार कक्षमा चार श्यया थप गरी ३८ पु¥याइएको भन्दै डा. तिवारीले पाँच श्ययाको एचडियु, तीन श्ययाको थालेसेमिया युनिट र बर्थिङ युनिटमा पाँच श्यया थपिएको बताए । “बर्थिङ युनिटमा थप गरिएको श्ययामा गर्भवतीलाई राखेर प्राकृतिकरुपमा प्रसव गराउन सुरु गरेका छौँ”, उनले भने “यस युनिटमा गर्भवतीको साथमा उहाँको पतिका साथै आफन्त राख्न पाइन्छ ।”
गत मङ्सिर २५ गते उद्घाटन गरिएको बर्थिङ युनिटबाट हालसम्म ९५ जनालाई प्राकृतिकरुपमा प्रसूति गराइएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार अस्पतालले थप गरेको पाँच श्ययाको बर्थिङ युनिटका कारण प्राकृतिकरुपमा बच्चा जन्माउने दरमासमेत वृद्धि भएको छ । पछिल्लो साढे चार महिनाको अवधिमा अस्पतालको सेवासुविधामा धेरै वृद्धि गरिएको भन्दै डा सापकोटाले सकेसम्म बिरामीलाई लाइनमुक्त सेवा दिने तरिकाले काम भइरहेको बताए ।
अस्पतालले इन्डोर डिस्चार्ज काउन्टर सञ्चालन गरेर २४सै घण्टा वार्डबाट डिस्चार्ज गर्ने व्यवस्था गरेको, आकस्मिक कक्ष तथा भर्ना गरेर राखिएका बिरामीको रगत परीक्षणका लागि त्यहीँ रगत निकाल्ने र रिपोर्ट प्रदान गर्न सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता डा सापकोटाले अस्पतालको सेवालाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिएको बताए ।
बीमाका बिरामी र अन्य बिरामीलाई प्रदान गरिने सेवा शुल्कमा एकरुपता प्रदान गरिएको, बिलिङ काउन्टर र ओपिडी टिकट काउन्टरसँगै राखिएको भन्दै बिरामीलाई सहज भएको उनको भनाइ छ । अस्पतालमा प्रतिदिन एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी टिकट काटेर स्वास्थ्य परीक्षण गर्ने गरेको डा सापकोटाले बताए ।
अस्पतालमा एमआरआइ मेसिन र क्याथल्याब ल्याउन टेन्डर आह्वान भइसकेको भन्दै तिवारीले एमआरआइ मेसिन एक महिनाभित्र जडान हुने जानकारी दिए । -रासस

