काठमाडौं, । सरकारमा रहेका पाँच राजनीतिक दलहरुले नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् ।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्पमा सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउनदेखि खाद्य तथा औषधि नियमन प्राधिकरण बनाउने उल्लेख छ ।
साझा संकल्पमा सबै जनता निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने उल्लेख छ ।
यस्तै दायरा बढाउँदै किफायती स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने, सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधी नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख गरिएको छ ।

