काठमाडौँ, । नेपाल दक्षिण एसियाली मुलुकभन्दा सवभन्दा बढी बहिरोपन (कानको सुन्ने क्षमता कम)को समस्या रहेको मुलुकमा पर्ने गरेको छ ।

विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रमममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा दिपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताए ।
“नेपाल दक्षिण एसियामै सबभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उनले भने, “भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ ।”
उनका अनुसार नेपालमा करिव १५.५ प्रतिशत मानिसहरुमा बहिरोपनको समस्या रहेको छ । ३५ डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भनिन्छ । नेपालमा हुने अपाङ्गतामध्ये सवभन्दा बढी बहिरोपनका अपाङ्गता रहेको उहाँको भनाई रहेको छ । विश्वमा करिव ४६ करोड मानिसहरु बहिरोपनको समस्या रहेका छन् ।
बहिरोपन हुनुका कारणहरु
गर्भमा रहेको वेला आमालाई कुनै कडा खालको रोग लाग्नु, जन्मदा कम तौलको बच्चा, जन्मदा नरुने बच्चामा पनि बहिरोपनको समस्या देखा पर्दछ ।
यस्तै गरि समय नपुगेर जन्मिएका बच्चामा, जन्मिदा जण्डिस रोग लागेका बच्चा, जन्मिदा खेरी नै कडा खालको औषधि प्रयोग गर्नुपर्ने, बच्चालाई जन्मिदै नै बहिरोपनको समस्या देखिने गर्दछ । यस्तै बच्चालाई जन्मिदै सघन उपचार कक्ष (आइसियु) भेन्टिलेटर, कान पाक्ने रोग, कानको जालीमा पानी जम्ने रोग वा पिप आउने जस्ता कारणले पनि वहिरोपन हुने उनको भनाई रहेको छ ।

यस्तै क्यान्सर, क्षयरोगको औषधि प्रयोग गर्दा पनि कानमा असर पर्दछ । ति औषधि खाँदा पनि कान सुन्ने क्षमता हस आउँछ ।

यसैगरी अहिले ध्वनी प्रदुषणको कारणले पनि वहिरोपनको समस्या हुने गरेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले बताए । उनले कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको बताए ।

ठूलो ठूलो आवाजमा काम गर्ने, लामो समयसम्म गित ठूलो ठूलो आवाजमा सुन्ने, धेरै समयसम्म कानमा इयरफोन राख्ने, मोवाइलमा धेरै वेर कुरा गर्ने जस्ता कारणले पनि वहिरोपनको समस्या हुने गरेको छ ।
वरिष्ठ नाक, नाक, घाँटी रोग विशेषज्ञ प्राडा. श्रेष्ठले सन् २०१८ मा गरिएको अध्ययनमा धेरै हल्ला हुने ठाउँ कलङ्की, रत्नपार्कमा बहिरोपनको समस्या देखिएको बताए । ति ठाउँमा लामो समयसम्म बस्ने मानिसमा बहिरोपनको समस्या देखिएको थियो ।

बहिरोपनबाट बच्ने उपाय

सङ्क्रमणबाट कानलाई बचाउनुपर्छ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । .कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ ।
यसैगरी. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्छ । कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन ।
यसैगरी गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्नु हुँदैन । गर्नपरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्न हुँदैन ।
यसैगरी सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडीको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन ।
यस्तै मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन सकिन्छ ।

 प्रकाशित :-  २०८० फागुन २०, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय