काठमाडौँ, । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले यहि पर्सिदेखि पोखरामा सुर्ती उत्पादक कम्पनी सूर्य नेपाल मुख्य प्रायोजकमा हनु थालको “नेपाल लिटरेचर फेस्टिवल २०२४ प्रति आपत्ति जनाएको छ ।
कानून विपरीत सुर्ती उत्पादक कम्पनीले मुख्य प्रायोजक भएको भन्दै प्रतिष्ठानका कार्यक्रम संयोजक डा. जय कुमार गुरुङ र संस्थाका महासचिव दिपेन्द्र बान्तवाले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’
यहि फागुन ७ गतेसम्म वुकवर्म फाउन्डेसनले आयोजना गरेको उक्त फेस्टिवलमा सुर्तीजन्य पदार्थको उत्पादक कम्पनि सुर्य नेपालाई मुख्य प्रायोजक बनाई त्यसको
लोगोसहित प्रचार प्रसार गरिएको छ । जुन कानुन विपरीत छ । त्यसैले यस कार्यक्रमका आयोजक संस्था वुकवर्म फाउन्डेसनलाइ कानुन विपरित कार्य नगर्न समेत अनुरोध गरिएको छ ।
प्रत्येक बर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७,५२९ अर्थात् प्रति घण्टा ४ जना भन्दा धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरु जस्तै क्यान्सर, श्वासप्रश्वास सम्वन्धि रोगहरु लगायत विभिन्न मुटु सम्बन्धि रोगहरु लाग्ने तथ्य अवगत नै छ ।
नेपाल सरकारले सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वनमा ल्याइसकेको छ । नीतिगत रुपमा बलियो हुँदा हुँदै पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिदै आएको छ ।

