काठमाडौं । देशकै एक मात्र ट्रपिकल तथा सरुवा रोग सम्वद्ध शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ वर्षको अवधीमा १२ निर्देशक फेरिएका छन् । सरकार परिवर्तनको प्रत्यक्ष असर अस्पतालको नेतृत्वमा पर्ने गरेको देखिएको हो ।

विसं २०६५ देखि हालसम्म १३ पटक नेतृत्व फेरबदल भएको देखिन्छ । यो अवधिमा डा.लक्ष्मीराज पाठक, डा.सरोजप्रसाद, डा.मिथिला शर्मा, डा.ईन्दप्रसाद प्रजापति, डा.शंकरबहादुर श्रेष्ठ, डा.केदारप्रसाद सेन्चुरी, डा.रमेशकुमार खरेल, डा.मनिषा रावल निर्देशक बनेका छन् । यस्तै, डा.वासुदेव पाण्डे, डा.सागर कुमार राजभण्डारी, डा.अनुप बास्तोलाले निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

पाठक ०६५ जेठ २० देखि ०६५ कार्तिक १५ सम्म निर्देशक बनेका थिए । यस्तै, सरोज प्रसाद ०६५ कार्तिक २६ देखि ०६७ मंसिर १५ सम्म निर्देशकको जिम्मेवारीमा थिए । डा.शर्मा ०६७ माघ ५ देखि ०६८ चैत ८ सम्म निर्देशक बनेकी थिईन् ।

यस्तै, डा.प्रजापती ०६९ वैशाख १३ देखि ०७० जेठ १९ सम्म नेतृत्वमा थिए । डा.श्रेष्ठ ०७१ वैशाख ३० देखि साउन ३० सम्म तिन महिना मात्रै नेतृत्वमा बस्ने मौका पाए । डा.सेन्चुरी ०७१ भदौ ८ देखि ०७३ वैशाख ३० सम्म, डा.खरेल ०७३ वैशाख ३० देखि ०७४ भदौ ७ सम्म अस्पतालको नेतृत्वमा रहे । डा.रावलले भने दुई पटक अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिन् । उनले ०७४ कार्तिक २९ देखि ०७५ साउनसम्म र ०७८ मंसिर १३ देखि ०८० मंसिर ११ सम्म नेतृत्वमा रहिन् ।

यस्तै, डा.पाण्डे ०७५ साउन १० देखि ०७६ फागुन १९ सम्म नेतृत्वमा रहे । डा.राजभण्डारी ०७६ फागुन १९ देखि ०७८ असार १४ सम्म, डा.बास्तोला ०७८ असार १४ देखि ०७८ मंसिर १३ सम्म निर्देशकको भूमिकामा रहे । गत मंसिर ११ देखि डा.युवानिधी बसौंलाले अस्पतालको नेतृत्व सम्हालिरहेका छन् । यस अघि उनी कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए ।
अस्पतालका निर्देशक डा.बसौलाले अस्पतालको स्तरोन्नतीका लागि काम भइरहेको बताए । उनले अहिले अस्पतालको फार्मेसी २४ सै घण्टा सञ्चालनमा रहेको जानकारी दिए ।
विसं २०३४ सालमा सरुवा रोग नामाकरण भई विर अस्पतालबाट छुट्याई छुट्टै केन्द्रिय अस्पतालको रुपमा सञ्चालन भएको थियो । हाल शुक्रराज ट्रपिकल अस्पताल एक सय शैयामा सञ्चालित छ ।

विसं १९९० मा डाईरेक्टर अफ मेडिकल सर्भिसेस अन्तर्गत् हाल रोपवे टर्मिनल रहेको टेकुस्थित पाटीमा कलेरा अस्पतालका रुपमा यो अस्पतालको स्थापना भएको हो । अस्पतालको सूचना पाटीमा उल्लेख भए अनुसार अहिलेसम्म २७ जना निर्देशक बनेको देखिन्छ ।

 प्रकाशित :-  २०८० माघ १६, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय