काठमाडौँ, ३ पुस ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत सवै नर्सिङ एवम स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सवै सामुदायिक नीजि अस्पताललाई पत्राचार गरि नर्सिङ्को न्यूनतम सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
नर्सिङ्को सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि निर्देशन दिइएको हो ।
यस्तैगरि मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले बताए ।
स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ती सम्झौता) गरि राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्क पत्र कार्यालयमा राख्न नपाइने जस्ता कार्य गर्न समेत अस्पतालहरुलाई निर्देशन दिइएको छ ।
यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

