नेपालगंज, २ पुस । नेपालगंज मेडिकल कलेजका कर्मचारीहरुले तलब वृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । दोस्रो चरणको आन्दोलनको रुपमा भोलिदेखि बहिरंंग (ओपिडी) सेवा बन्द गर्ने भएका छन् । भोलि र पर्सि दिउँसो १ बजेसम्म (आधा दिन) ओपीडी र शैक्षिक कार्यक्रमहरू पनि बन्द गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताइन् । उनका अनुसार पुस ५ गतेदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा र शैक्षिक कार्यक्रमहरू पूर्णरूपमा बन्द गरिन्छ । ५ गतेदेखि नै अस्पताल परिसर, कलेज परिसरमा भेला तथा कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएको गिरीले बताइन् । उनले आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबिच पटकपटक वार्ता भए पनि निष्कर्ष ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनुपरेको बताइन् ।

करिब ६ महिनाअघि नै आफूहरुले मागहरू अस्पताल व्यवस्थापनलाई बुझाएको र सो सम्बन्धमा पटकपटक अस्पताल व्यवस्थापन ताकेता गर्दा पनि बेवास्ता गरिएकोले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको संयोजक गिरीले बताइन् । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए ।

सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीकाबिच पटकपटक वार्ता हुँदासमेत अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले मङ्सिर २६ गतेदेखि पहिलो चरणको आन्दोलन शुरु गरिएको थियो ।

पहिलो चरणको आन्दोलनअन्तर्गत कर्मचारीले मङ्सिर २६ देखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । सोही दिन साँझ नेपालगन्ज, कोहलपुर र चिसापानीमा कर्मचारीले कोण सभा गरेका थिए ।

३० गते कालोपट्टीलाई निरन्तरता दिँदै अस्पताल प्रशासन, लेखा र एकेडेमी कार्यालयमा तालाबन्दी गरेका थिए । वार्ता र सहमतिको ढोकालाई खुला राख्दै कर्मचारीहरूले आन्दोलनका क्रममा कुनै क्षति वा समस्या भए त्यसको जिम्मेवारी अस्पताल व्यवस्थापनले नै लिनुपर्ने जनाएका छन् ।

मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै तलब वृद्धि गर्ने कर्मचारीका माग पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पूर्ण पालना गरिनुपर्ने मेडिकल कलेजका कर्मचारीहरूको माग छ । मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब एक हजार कर्मचारी कार्यरत छन् ।

 प्रकाशित :-  २०८१ पौष २, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय