काठमाडौँ, ८ कात्तिक : आज नेपाल सहित विश्वभर पोलियो दिवस मनाइदै छ । यस बर्ष दिवसको नारा ‘पोलियो अन्य गरौ’ भन्ने रहेको छ ।
दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सवैमा अनुरोध गरेका छन्
सन्देशमा उनले पोलियो उन्मूलन गर्ने महान अभिायनमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक बर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले सुईबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बताए ।
“अझै पनि केही देशमा पोलियोका नयाँ विरामीहरु देखापरिरहेका छन भने विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ”उनले भनेका छन्, “हाम्रो देशको सन्र्दभमा पनि वातावरणमा पोलियो भाइरस भए÷नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।”
संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहि रहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाई रहेको छ ।
उनले नेपाल पनि पोलियोको जोखिम अझै कम नभएकोले सवै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरे ।
मन्त्री पौडेलले पोलियो खोपसंगै सरकारले प्रदान गर्ने सवै खोपहरु लगाउन समेत अनुरोध गरे ।
पोलियो रोग पोलियो भाइरसबाट हुने सङक्रामक रोग हो । पोलियो रोगलागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाई महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ ।
पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
सरकारले पाँच बर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियो विरुद्धको खोप प्रदान गर्दै आइरहेको छ ।
मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा र सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गर्दछ ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच बर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेको बताए ।
पोलियो रोगबाट बच्नका लागि पोलियो विरुद्धको खोप नै लगाउनु रहेको उनको भनाई रहेको छ । पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाई, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।
गत जेठ महिनामा टुकुचा खोला र वागमती नदीको संगम स्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँच बर्ष मुनिका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो ।
सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

