काठमाडौँ, ११ असोज ः कानूनले नै सुरक्षित गर्भपतनलाई मान्यता दिएसंगै गर्भपतन गराउने संख्या बढेको छ ।
गत २०८०÷८१ मा एक लाख पाँच हजार जना महिलाहरुले सुचिकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
नेपालमा तत्कालिन मुलुकी ऐन को ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारको रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ बर्षको अवधीमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति गरेको बताए ।
उनका अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा सन् १९९६ मा ५३९ मातृमृत्युबाट सन् २०२१ मा १५१ मा मातृमृत्यु झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौ । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिइएको छ ।
उनले असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनिकरण गर्न पनि सफल भएको बताए ।
१० हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार ६८३ स्वास्थ्य संस्था र चार हजार २३५ स्वास्थ्यकर्मीहरु, १० हप्ता सम्मको औषधीको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ७३० स्वास्थ्य संस्था र एक ४१९ स्वास्थ्यकर्मीहरु, १२ हप्ता सम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ३५० स्वास्थ्य संस्था र दुई ८६० चिकित्सिक तथा स्वास्थ्यकर्मीहरु र १२ हप्ता भन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र १८७ जना चिकित्सकहरुलाई सुचिकृत रहेका छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण र गर्भपतन पश्वात सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।
म्हाशाखाका निर्देशक डा. लालले सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाहरुको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिएको उल्लेख गर्दै सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका बताए । उनका अनुसार गर्भपतन सेवा देश भरि नै उपलब्ध रहेको छ ।
“सम्मानजनक प्रजनन् स्वास्थ्य तथा गर्भपतन अधिकार प्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहूँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ,” उनले भने ।
यो बर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो ।

