काठमाडौँ, ८ असोज : देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार  शम्भु श्रेष्ठले उक्त रकम रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आज वीर अस्पतालमा हस्तान्तरण गरेका छन् ।
दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले १ लाख ८२ हजारको चेक एक समारोहबीच दियालीलाई संयुक्त हस्तान्तरण गरे। जसमा श्रेष्ठले प्राप्त गरेको पुरस्कारस्वरुप एक लाख र रोटरी क्लब अफ काठमाडौं बेष्टको ८२ हजार सहयोग समावेश छ । उक्त समारोहमा रोटरी क्लब अफ काठमाडौं बेष्टका पदाधिकारीहरुको उपस्थिति थियो ।
यसैगरी करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद हस्तान्तरण गरे ।
सो अवसरमा दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमान्दरपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा होइन, त्यसैले एकजना पत्रकारलाई दुःख कष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताए ।
त्यसैगरी रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौं बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताए ।
सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पु¥याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने बताए । त्यसबाहेक पत्रकारसँग सम्बन्धित संघ संस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उहाँको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो । उनको उपचारका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग पु¥याउँदै आएका छन् ।

 प्रकाशित :-  २०८१ आश्विन ८, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय