काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरीका प्रस्थान गरेका छन् । मन्त्रीमा नियुक्ती भएको दुई महिना नपुग्दै यादव अमेरिका प्रस्थान गरेका हुन् । यादव २०८० फागुन २७ गते मन्त्री बनेका थिए । यादव विदेश भ्रमण गर्ने मन्त्रीको सूचिमा पहिलो नम्बरमै पर्छन् ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिवार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किनेछन् ।
पहिलोपटक स्वास्थ्य मन्त्री भएको बेला यादव देशभर डेंगी फैलिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गएका थिए ।
लगत्तै त्यहि बेला देश डेंगी र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिमलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव १४ दिनका लागि अमेरिका हानिए । उनी सो समयमा एक वर्षको अवधिमा २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएको देखिएको थियो ।
टर्कीको आनटल्या, लन्डन, कजकास्तानको अस्तानामा, जेनेभा र भारतमा आयोजना गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएका थिए ।

