काठमाडौँ, ।आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस् र फ्याटी लिभरबाट बच्नुस्’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धनबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल १९ मा यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा कलेजको महत्वबारे मानिसहरूलाई शिक्षित गराउनुका साथै कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने गरिन्छ ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग मानिन्छ । कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन दिनुपर्ने विज्ञहरुको भनाइ छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा डा युवराज शर्मा भन्छन्, “कलेजोले शरीरमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई आवश्यक विभिन्न तत्व निर्माण गर्छ । विकार तत्वलाई शुद्धीकरण गर्छ । राम्रो खानपिन र रहनसहनबाटै कलेजो स्वस्थ राख्न सकिन्छ ।”

धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्दा कलेजोमा बोसो जम्न सक्दैन । कलेजोमा बोसो बढ्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या हुनेमा अधिकांश कारण अत्यधिक मदिरा सेवन हुने गरेको पाइएको छ । त्यसैगरी हेपाटाइटिस ‘बी’ र ‘सी’को सङ्क्रमण, अनुवांशिक कारणले पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकहरुको भनाइ छ ।

डा शर्मा भन्छन्, “मदिराजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । बच्चाहरुलाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । अनुवांशिक कारणले निम्तिने समस्या पनि छ ।” उनले वर्षमा कम्तीमा एकपटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट९एलएफटी०गराउन सुझाव दिनुहुन्छ ।

नेसनल हेल्थ सर्भिस ९एनएचएस० युकेका अनुसार कलेजोमा समस्या आयो भने खानामा अरुचि हुने, वाकवाकी लाग्ने, शरीर कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखा पर्छन् ।

डा शर्मा समस्या बढ्दै जाँदा जन्डिसको लक्षण जस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने समस्या देखिन्छ । उनी छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भएमा ‘क्रोनिक लिभर डिजिज’ हुनसक्ने बताउँछन् । उनले भने “यसले गर्दा पेटमा पानी आउने, पेटको आमाशयमा नसा फुल्ने, नसा फुटने, रगत बान्ता हुने, दिसामा रगत जाने, छालामा विभिन्न प्रकारका दाग देखिन्छन् ।”

उनले कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले मधुमेह र कोलेस्ट्रोलका बिरामीहरुले नियमित जाँच गराइराख्नुपर्ने बताए ।

 प्रकाशित :-  २०८१ बैशाख ७, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय